गृहमन्त्री लेखकको राजिनामा आउनुपर्ने विपक्षी दलहरुको अडान कायमै

जेष्ठ १६, २०८२
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा आउनुपर्ने अडान कायम राखेका छन् । बजेटका लागि संसदमा अवरोध नगरेका विपक्षी दलले विरोध जारी राख्दा बजेटमाथिको छलफल प्रभावित हुने भएपछि सभामुख देवराज घिमिरेले प्रमुखका दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको थियो । तर विपक्षी दलले संसदमा विरोध कायम रहने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले अवरोध हिजोको लागि मात्रै रोकिएको र अब निरन्तर अघि बढ्ने बताउनुभयो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले मानव तस्करसम्म जोडिएको घटनामा सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाउनुभयो । परियारले गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन आयोगको मागबाट आफूहरु पछि नहट्ने बताउनुभयो । सभामुख घिमिरेले सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र आगामी क्यालेन्डरका विषयमा छलफल गर्नुभएको थियो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आगामी मंगलवारका लागि बोलाइएको छ ।