तमासा नदेखाउन प्रधानमन्त्री ओलीको आग्रह

जेष्ठ १७, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसका नेताहरूलाई सार्वजनिक रूपमा झैझगडा नगर्न सुझाव दिनु भएको छ । उहाँले पार्टीभित्रका आन्तरिक विषयलाई सार्वजनिक बहसमा ल्याएर विवाद नगर्न सुझाउनु भएको हो । १३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घघाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूलाई पार्टीको विवाद सार्वजनिक रूपमा छताछुल्ल नगर्न आग्रह गर्नु भएको हो ।
गृहमन्त्री रमेश लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणमा जोडेर कांग्रेसकै नेताहरूले राजीनामा माग गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले यस्तो कटाक्ष गर्नुभयो । सबै पार्टीभित्र समस्या हुनसक्ने र त्यसको समाधान आन्तरिक रूपमा नै गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले घर भित्रको विषयमाथि आँगनमा निस्केर तमासा गर्दै छिमेकीलाई डिस्टर्ब गर्न नहुने बताउनु भयो । विपक्षी दलहरूले आधारहीन आरोप लगाएर गृहमन्त्रीको राजीनामा मागिरहेको बताउँदै त्यसमा नलाग्न कांग्रेसका नेताहरूलाई प्रधानमन्त्रीले सुझाव दिनु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको दाबी गर्नुभयो । गृहमन्त्रीमाथि कुनै आरोप, छानबिन नभएकाले राजीनामा दिन नपर्ने प्रधानमन्त्रीको स्पष्टोक्ति थियो । उहाले भन्नु भयो – गृहमन्त्रीको राजीनामा माग गर्नु नित्तान्त पूर्वाग्रहपूर्ण, निराधार, अनुचित क्रियाकलाप हो । त्यसकारण यस अनुचित क्रियाकलापलाई साथ दिन सकिँदैन । गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन, त्यसकारण गर्नुहुन्न ।
एउटा कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोध्दैमा गृहमन्त्रीले राजीनामा गर्न आवश्यक नरहेको ओलीले बताउनु भयो ।