सार्वजनिक यातायात ठप्प, सर्वसाधारण मर्कामा, यातायात व्यवसायीको समस्या समाधानका लागि पहल शूरु

जेष्ठ १९, २०८२
यातायात व्यवसायीहरूको समस्या समाधान गर्न बनाइएको वार्ता समितिको पहिलो बैठकमा अहिले छलफल भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखाका सह–सचिव इन्जिनियर कृष्णराज पन्थको नेतृत्वमा गठित १० सदस्यीय वार्ता समितिको बैठकमा सहमतिका लागि छलफल छलफल जारी रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बिहान बसेको बैठकले यातायात व्यवसायीहरूको समस्या समाधान गर्न सरकार र आन्दोलनमा उत्रिएका यातायात व्यवसायीबीच वार्ता गर्न समिति बनाएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार वार्ता समितिमा सरकारका तर्फबाट ७ र यातायात व्यवसायीका तर्फबाट ४ जना सहभागी छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगित गर्नुपर्ने यातायात व्यवसायीको अडान छ । गण्डकी प्रदेश सरकारले संविधानविपरीत राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित आज देशैभरीका सार्वजनिक यातायात चलाएका छैनन् । लामो तथा छोटो दुरीका सार्वजनिक यातायात नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । वार्ताबाट आफूहरुको माग सम्बोधन नभएसम्म यातायात नचल्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताउनुभयो ।