भारतमा १६ पछि जनगणना गर्ने तयारी

जेष्ठ २१, २०८२ | काठमडौं
विश्वको सबैभन्दा बढी जनसंख्या भएको भारतले १६ वर्षको अन्तरालपछि जनगणना गर्ने तयारी थालेको छ ।
भारतले सन् २०२७ मार्च १ देखि जनगणना गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जनगणना दुई चरणमा हुनेछ । जनगणनासँगै लामो समयदेखि विवादित रहँदै आएको जातिगत गणना पनि गरिने भएको छ ।
प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले लामो समयदेखि जातिगत गणना गर्न सरकारलाई दबाब दिँदै आएको थियो । यस्तै, पहाडी राज्यहरु लद्दाख, जम्मू कश्मीर, उत्तराखण्ड र हिमाचल प्रदेशमा भने जनगणना यही वर्ष हुनेछ । ती राज्यहरुमा आगामी अक्टोबर १ मा गणना सुरु गरिने बताइएको छ ।
यसअघि, सन् २०११ मा भारतमा राष्ट्रव्यापी जनगणना भएको थियो । त्यसपछि सन् २०२१ मा गणनाको लागि प्रस्ताव भएपनि कोभिड १९ को महामारीका कारण स्थगित भएको थियो ।