१२ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

जेष्ठ २२, २०८२ | काठमाडौं
अमेरिकाले विभिन्न १२ देशका नागरिकहरुलाई प्रवेशमा पूर्ण रोक लगाउने भएको छ । व्हाइट आउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्राभल प्रतिबन्धसम्बन्धी एक आदेशमा हस्ताक्षर गर्दै १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा निषेध गर्नु भएको हो ।
ट्रम्पले राष्ट्रिय सुरक्षामा जोखिमको कारण देखाउँदै ती देशका नागरिकलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने र अन्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा उच्च कडाइ गर्ने घोषणा जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प सरकारले अफगानिस्तान, म्यान्मार, चाद, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, लिभिया, सोमालिया, सुडान र यमनका नागरिकलाई पूर्ण प्रतिबन्ध लगाएको हो ।
त्यस्तै बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा कडाइ गरिने बीबीसीले जनाएको छ । खतरनाक विदेशी तत्वबाट अमेरिकालाई बचाउन पछिल्लो प्रतिबन्ध लगाइएको बताइएको छ । यी १९ देशहरुमाथिको यात्रा प्रतिबन्ध र कडाइ आगामी सोमबारदेखि लागु हुनेछ ।