सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेष्ठ १९, २०८२ | काठमाडौं
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार सोडारीले सार्वजनिक पदधारण गरेको अवधिमा ८५ लाख ५१ हजार रुपैयाँ भन्दा बढी वैधानिक आय आर्जन गरेको देखिन्छ । तर सोही अवधिमा आम्दानी र खर्च हिसाब गर्दा एक करोड ८ लाख ३८ हजार रूपैयाँ बराबरको हिसाब देखाउन नसकेकाले त्यति नै बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
सोडारी २०७४ मा एकीकृत समाजवादीको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।