‘नारा’ले भरिएको सुदूरपश्चिमको नीति तथा कार्यक्रम

जेष्ठ १७, २०८२ | धनगढी

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगत झै थुप्रै आकर्षक नारा तथा अभियानका कार्यक्रमहरु उल्लेख गरिएका छन् । 

उद्यम विकास अन्तर्गत एक जिल्ला–एक उद्यम, गरौं उत्पादन–राखौं पहिचान, एक स्थानीय तह–दुई उत्पादन लगायतका नाराहरु दिइएको छ । कृषि क्षेत्र अन्तर्गत कृषकलाई टेवा–घरदैलोमा प्राविधिक सेवा, पशुपंक्षी पूर्ण खोप प्रदेश अभियान राखिएको छ । पर्यटन क्षेत्रको विकास कार्यक्रममा पर्यटन पूर्वाधार–समृद्ध प्रदेशको आधार, बाकाबीर पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । 

वन क्षेत्रतर्फ सामुदायिक वन–प्रदेशको धन नारा दिइएको छ । स्वास्थ्य क्षेत्रमा मुख्यमन्त्री स्वास्थ्य सुधार तथा पोषण सुरक्षा कार्यक्रम, स्वास्थ्यमा प्रविधि–समृद्धिमा गति, सबै आमाको हक–सुरक्षित गर्भ र सुरक्षित जीवन, प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिक, एक घण्टा–आफ्नै लागि, स्वस्थ बालबालिका, सबल नारी र सम्मानित जेष्ठ नागरिक–सुदूरपश्चिमको प्रतिवद्धता लगायतका नारा नीति तथा कार्यक्रममा राखिएको छ । 

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षमा प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भनेको छ । मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम, प्रदेशमा पनि स्टार्टअप कार्यक्रम, कैलालीको डुडेझारीमा प्रदेश स्तरको आद्योगिक क्षेत्र स्थापनाका कार्यक्रमहरु पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

विगत झै कृषकलाई कृषि कर्जाका ब्याजमा अनुदान तथा कृषकहरुलाई विभिन्न अनुदान उपलब्ध गराउने कार्यक्रमहरु प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारको एक सय वटा उच्च प्रतिफलयुक्त आयोजना छनोट गरी कार्यान्वयन गर्ने तथा प्रदेश गौरवका आयोजना र बहुवर्षीय आयोजनालाई प्राथमकिता दिएर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशका गौरबका आयोजनाको निगरानी गर्न सिएम ‘एक्सन रुम’ स्थापना गर्ने भनिएको छ । सबै मन्त्रालयहरुको कार्यसम्पादन गरिने भनिएको छ ।

शिक्षा अन्तर्गत कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने, बौद्धिक अपाङगता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्ने, नौ वटै जिल्लामा एक/एक नमुना क्याम्पस सञ्चालन गर्ने भनिएको छ । 

जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्रका एउटा माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउने भनिएको छ । 

यस्तै, स्नातक र स्नातकोत्तर तह पुरा गर्ने चरणमा रहेका इच्छुक विद्यार्थीहरुलाई इन्टर्नसिप र स्वमसेवकको रुपमा परिचालन भनिएको छ । खेल क्षेत्र अन्तर्गत प्रदेश खेलकुद नीति बनाएर उत्कृष्ट खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने, एक जिल्ला एक क्रिकेट मैदान निर्माण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ । स्वस्थ बालबालिका, सबल नारी र सम्मानित जेष्ठ नागरिक दशक कार्यक्रम (०८२–०९२) सञ्चालन गर्ने भनिएको छ ।

यस्तै, अघिल्ला वर्ष जस्तै सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिक नारा दिएर स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रमहरु राखिएको छ । 

डडेल्धुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी लगायतका अस्पताललाई प्रदेशस्तरको बनाउने, अछामको बयालपाटा अस्पतालको स्वामित्व र ब्यवस्थापन प्रदेश सरकार मातहत ल्याउन कानुनी प्रवन्ध गरी प्रदेशस्तरको अस्पतालरुपमा सञ्चालन गर्ने भनिएको छ । बाकाबीर पर्यटन प्रवर्द्धन कार्यक्रम, नीति तथा कार्यक्रममा प्रदेशसभा सदस्यहरुको बीमा गर्ने पनि उल्लेख छ ।


प्रतिक्रिया