कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

जेष्ठ १८, २०८२ | काठमाडौं
कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा रायलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।
रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए । बैंकको रकम हिनामिना प्रकरणमा फरार रहेका रायलाई पक्राउ गरिएको सीआईबीका प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो ।
२०६० मा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि ०७९ सम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।
उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए । रायलाई बैंकिङ कसूर तथा सजाय ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
एआईजी खापुङका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्ति समेत अनुसन्धानको दायरामा परेका छन् । सो प्रकरणमा बैंकका पूर्व सीईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका एआईजी खापुङले बताउनुभयो ।
रकम हिनामिनाको आरोपपछि बैंक सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ मा छानबिन समिति गठन भएको थियो । समितिले अनियमिततामा रायसहितका व्यक्तिले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो ।