दुम्किबास सडक दुईतर्फी सञ्चालनमा

जेष्ठ १८, २०८२ | नवलपरासी
नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको डाइभर्सन बाढीले बगाएपछि विगत चार दिनदेखि अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा आएको छ । यसअघि एकतर्फी सञ्चालन भइरहेको सडकमा आज बिहानदेखि दुईतर्फी यातायाच आवागमन सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुईतर्फी गाडी आउजाउ सुरु भएपछि दाउन्नेमा २२ घन्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ हिँडेका छन् ।
पूर्व–पश्चिमका लागि छुटेका गाडी दुम्किबासको विनयी खोलाको डाइभर्सन एकतर्फी सञ्चालन हुँदा सयौं गाडी दाउनन्ने र दुम्किबासमा अलपत्र परेका थिए । हिजो दिउँसो दाउन्नेदेखि चोरमारा नजिकसम्म १७ किलोमिटर जाम थियो ।
गत बुधबार राति बाढीले बगाएको डाइभर्सन निर्माण गरेर आज बिहानदेखि दुईतर्फी नै यातयात सुरु गरिएको प्रहरीले जनाएको छ ।
सडक बिस्तारको क्रममा रहेको दाउन्नेको १४ किलोमिटर खण्डमा दिनहुँ घण्टौं जाम हुने गरेको छ । सडक निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीका कारण कामले गति लिन सकेको छैन ।