भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजिनामा दिनु पर्दैनः प्रधानमन्त्री ओली

जेष्ठ १७, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा माग्ने विपक्षी दलको कदम औचित्यहीन भएको बताउनुभएको छ । 

कर्मचारीमाथि अनुसन्धान भएकै भरमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनु नपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । कान्तिपुर हाफ म्याराथनको उद्घाटनपछि आयोजित छलफलमा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

विपक्षी दलले अनावश्यक रुपमा गृहमन्त्रीको राजिनामा मागेको प्रधानमन्त्री ओलीको टिप्पणी थियो । अर्को प्रसंगमा उहाँले सत्तारुढ कांग्रेसका नेताहरुप्रति लक्षित गर्दै आन्तरिक विषयलाई सार्वजनिक रुपमा व्यक्त नगर्न आग्रह गर्नुभयो ।

सत्तारुढ कांग्रेसका संस्थापन इतर पक्षका नेताहरुले सरकार र राष्ट्रिय राजनीतिको सन्दर्भमा अभिव्यक्ति दिने क्रम बढिरहँदा प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो । 


प्रतिक्रिया