आर्मीका खडकबहादुर र ओलम्पियन धाविका सन्तोषीले जिते कान्तिपुर हाफ म्याराथनको उपाधि

जेष्ठ १७, २०८२ | काठमाडौं
१३ औं कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जितेका छन् ।
दुवैजना पहिलो पटक च्याम्पियन भएका हुन् । हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । सोही प्रतियोगिता अन्तर्गत ७ किलोमिटरको कलेज रनको ब्वाइजतर्फ अजय पाण्डे पहिलो, अमृत विश्वकर्मा दोस्रो, विश्वराम कुँवर तेस्रो भएका छन् । गल्र्सतर्फ सुसन कार्की लगातार यस वर्ष पनि विजेता भएकी छन् ।
आयुष्मा आचार्य दोस्रो र मनीषा थापा तेस्रो भए । ५ किलोमिटर कर्पोरेट तथा सेलेब रनमा पुरुषतर्फ विकेश घिमिरे पहिलो भए । रेवत दाहाल दोस्रो र शेरबहादुर थारु तेस्रो भए । कर्पोरेटको महिलातर्फ रेजिना दुलालले उपाधि जितिन् । वालिका केसी दोस्रो र कल्पना महर्जन तेस्रो भइन् ।