नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११ औं संस्करण अर्को साता हुने

जेष्ठ १६, २०८२ | काठमाडौं

नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११ औं संस्करण अर्को साता हुने भएको छ । नेपाल गल्फ संघको आयोजनामा हुने प्रतियोगिता जेठ २० देखि २२ गतेसम्म गोकर्ण गल्फ क्लबमा हुनेछ । 

संघले आज पत्रकार सम्मेलन गर्दै ५४ होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बङ्गलादेश, श्रीलंका, भुटान र भारतका गरी पाँच देशका खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने जनाएको छ । पुरुषतर्फ व्यक्तिगत र टिम विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई–दुई खेलाडी चयन गर्नेछन् र ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

आयोजक राष्ट्र नेपालले दुई टिम सहभागी गराउनेछ । व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ । सहभागी खेलाडी मध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन् । महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा ४५ पुरूष र १० महिला गल्फरले प्रतिस्पर्धा गर्ने गल्फ संघले जनाएको छ । खेलाडीले पर्सि आइतबारसम्म नाम दर्ता गर्ने समय रहेकोले संख्या बढ्न सक्ने बताइएको छ ।  


प्रतिक्रिया