यो वर्ष १५ दिन अगावै पूर्वी नेपालबाट मनसुन प्रवेश

जेष्ठ १७, २०८२ | काठमाडौं

यो वर्ष १५ दिन अगावै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको छ  ।

 बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट हुने मनसुन सामान्यतः भारतको दक्षिणी केरला राज्यमा प्रवेश गरेको १० देखि १३ दिनभित्रमा नेपाल भित्रिने भएपनि यो वर्ष सरदर मितिभन्दा अगाडि नै मनसुन नेपाल भित्रिएको हो । 

२९ वर्षयता यसपटक सबैभन्दा चाँडो मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही भेगमा वर्षा सुरु भएको छ । कोशीबाट सुरु भएको वर्षा अबको केही दिनमा मुलुकभर विस्तार हुने महाशाखाले जानकारी दिएको छ  ।

अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।


 एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको सो डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले डाइभर्सनसँगै सडक बगाएपछि वैकल्पिक मार्ग प्रयोग भइरहेको छ । यसैबीच, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


प्रतिक्रिया