राप्रपाको आन्दोलन जारी

जेष्ठ १७, २०८२

राप्रपा लगायत दल र राजावादी समूहले राजसंस्था पुनः स्थापना र हिन्दु राष्ट्रको मागसहित बिहीबारदेखि सुरु गरेको अनिश्चितकालीन प्रदर्शन आज पनि जारी राख्ने भएका छन् । राजावादीहरुले आज शान्तिबाटिका, रत्नपार्कमा कार्यक्रम गर्न लागेको हो । उनीहरुले आज दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजैदेखि लागू हुने गरी नारायणहिटी दरबार संग्राहालय क्षेत्रलाई असार २४ गतेसम्म निषेधित क्षेत्र तोकेपछि उनीहरूले कार्यक्रमस्थल परिवर्तन गरेका हुन् ।

नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले राति सूचना जारी गरेर सरकारले निषेधाज्ञा जारी गरेकाले आजलाई तोकिएको स्थान दरबारमार्ग परिवर्तन गरी रत्नपार्कमा कार्यक्रम गर्ने जनाएको छ । उनीहरुले १ बजेदेखि शान्तिबाटिका शान्तिपूर्ण जनआन्दोलन सुरु गर्ने बताएका छन् । जनताको समर्थनमा आन्दोलन उत्कर्षमा पुगेकाले अत्तालिएको सरकारले निषेधाज्ञा जारी गरेको सुवेदीले जारी गरेको सूचनामा उल्लेख छ । संयोजक सुवेदीले जनप्रदर्शन निरन्तर चल्ने बताउनु भयो ।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने उल्लेख गर्नुभयो । लावतीले आफुहरुको आन्दोलन भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा अघि बढ्ने बताउनुभयो । आयोजकले वर्षा हुन सक्ने भनेर छाता र पानीको बोतलसहित सडकमा भेला हुन भनेको छ । 


प्रतिक्रिया