बाढीले कोशी राजमार्ग अवरुद्ध

जेष्ठ १७, २०८२
वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत धनकुटाको भेडेटार–मुलघाट सडकखण्ड अवरुद्ध भएको छ । कोशी राजमार्गको दुई ठाँउमा सडक भत्किएपछि यातायात आवागमन अवरुद्ध भएको हो । बिहान साढे ५ बजेतिर फेदीस्थित लेउती खोलामा आएको बाढीले झण्डै एक सय मिटर सडक बगाएपछि सो खण्डमा दुईतर्फी आवागमन नै बन्द भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले सरोकारवाला निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
त्यस्तै, सोही खण्डको नमस्ते झरना छेउमा पहिरोसँगै रुख ढलेर सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार दुवै स्थानमा सडक खुलाउन तत्काल पहल भइरहेको छ । तर, वर्षा जारी रहेकाले सडक खुलाउन समस्या भएको छ । सडक अवरुद्ध भएसँगै कोशीका पहाडबाट तराई र काठमाडौँ आउने तथा तराईवाट पहाड जाने सवारी साधन बाटोमै रोकिएका छन् । त्यस्तै, वर्षाका कारण तमोर कोरिडोर पनि अवरुद्ध भएको छ ।
धनकुटा चौबिसेमा निर्माणधिन तमोर कोरिडोर सडकखण्डको छरुवा खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढीका कारण झापामा निर्माणाधीन पूर्वपश्चिम राजमार्गका केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण चाराआली, बुटाबारी र धुलाबारी खण्डमा यातायात अवरुद्ध भएको हो । त्यस्तै, माइखोलामा आएको बाढी बस्तीमा पसेपछि झापा गाउँपालिका २ का २२ घरपरिवार विस्थापित भएका छन् ।