सेप्टेम्बरमा हुने इंग्ल्यान्ड भ्रमणकालागि दक्षिण अफ्रिकाका मिलरसहित ३ खेलाडी पुनः समावेश

भाद्र ७, २०८२ | काठमाडौं

दक्षिण अफ्रिकाले आगामी सेप्टेम्बरमा इंग्ल्यान्डमा हुने टि–२० र एकदिवसीय सिरिजका लागि हालै टोलीमा नपरेका अनुभवी ३ खेलाडीलाई पुनः समावेश गरेको छ । डेविड मिलर, केशव महाराज र डोनोभान फेरेरालाई टि–२० सिरिजका लागि टोलीमा समेटिएको हो ।

 ३६ वर्षीय ब्याट्सम्यान मिलर र ३५ वर्षीय स्पिनर महाराजले अष्ट्रेलियाविरुद्धको पछिल्लो टि–२० सिरिज गुमाएका थिए । सो सिरिज अष्ट्रेलियाले २–१ ले जितेको थियो । यस्तै सन् २०२३ को डिसेम्बरमा अन्तिम पटक टि–२० खेलेका आक्रामक ब्याट्सम्यान डोनोभान फेरेरालाई पछिल्लो पटक फ्रेन्चाइज प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा टोलीमा समावेश गरिएको हो ।

 इंग्ल्यान्ड भ्रमणको क्रममा दक्षिण अफ्रिकाले तीन एकदिवसीय अन्तर्राष्ट्रिय र तीन टि–२० खेल्नेछ । यस्तै घाइते भएर टोली बाहिर रहेका अलराउन्डर मार्को जानसेन र तीव्र गतिका बलर लिजाड विलियम्सलाई आगामी प्रतियोगिताका लागि टोलीमा राखिएको छ । इंग्ल्यान्ड र दक्षिण अफ्रिका दुवै टोलीलले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि–२० विश्वकपको तयारी स्वरुप सो सिरिज खेल्न लागेका हुन् ।  


प्रतिक्रिया