टप इन्ड टी २० सिरिजमा नेपालको लगातार दोस्रो जित

भाद्र ४, २०८२ | काठमाडौं
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।
नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स निर्धारित ओभरमा १ सय ६ रनमा अलआउट भयो । रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १–१ विकेट लिए ।
त्यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन जोडे ।
नेपाल हालसम्म खेलेका ५ खेलमध्ये सुरुवाती ३ खेलमा लगातार पराजित हुँदा त्यसपछि लगातार २ जित निकालेको हो । नेपाल ५ खेलबाट ४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।
शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने छन् । नेपालले अब पर्सि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।