श्रीलङ्काका पूर्व राष्ट्रपति विक्रमासिङ्घे पक्राउ

भाद्र ६, २०८२ | काठमाडौं

श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घे पक्राउ परेका छन् । सार्वजनिक कोषको दुरुपयोग गरेको आरोपमा प्रहरीले आज पूर्व राष्ट्रपति विक्रमासिङ्घेलाई पक्राउ गरेको हो । सन् २०२२ देखि २०२४ सम्म राष्ट्रपति बनेका विक्रमासिङ्घेले बेलायतमा आफ्नी पत्नीको दीक्षान्त समारोहमा सहभागी हुन सार्वजनिक रकम खर्च गरेको आरोप लागेको छ ।

 आर्थिक अपराध अनुसन्धान विभागले विक्रमासिङ्घेलाई पक्राउ गरी अदालतमा पेश गरेको समाचारमा जनाइएको छ । श्रीलङ्काको इतिहासमा पूर्व राष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको यो नै पहिलो घटना मानिएको छ । वर्तमान सरकाले सुरु गरेको भ्रष्टाचार विरुद्धको कारबाहीमा पर्नेमा विक्रमासिङ्घे सबैभन्दा शीर्ष व्यक्ति रहेको बताइएको छ । 

अघिल्लो सरकारको नेतृत्वमा भ्रष्टाचारको आरोप लागेकाहरुलाई कारबाही गर्ने प्रतिवद्धतासँगै गत वर्ष सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा पुराना राजनीतिक नेतालाई पराजित गर्दै अनुरा कुमारा डिसानायके विजयी हुनुभएको थियो । अहिलेसम्म पुराना सरकारका दर्जनभन्दा बढी नेता तथा उच्च पदस्थ अधिकारी पक्राउ परिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  


प्रतिक्रिया