लिपुलेक सहमतिबारे भारत र चीनलाई नेपालको अलग–अलग कूटनीतिक नोट

भाद्र ७, २०८२ | काठमाडौं

लिपुलेकबाट द्धिपक्षीय व्यापार गर्ने भारत र चीनको सहमतिपछि आपत्ति जनाउँदै नेपाल सरकारले दुवै छिमेकी मुलुकलाई अलग अलग कूटनीतिक नोट पठाएको छ । 

चीन र भारतको सहमतिप्रति व्यापक विरोध भइरहँदा सरकारले ती देशलाई कुटनीतिक नोट पठाएर लिपुलेक क्षेत्र नेपालको भूमि भएको स्मरण गराएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारले कूटनीतिक नोट पठाउँदै सीमा विवाद समाधानका लागि स्थापित संयन्त्रमार्फत छलफल गर्नुपर्ने उल्लेख गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणलाई दृष्टिगत गरी कुटनीतिक नोटमा सन्तुलित र नरम भाषा प्रयोग गरिएको बताइएको छ । यसअघि सत्तारुढ र प्रतिपक्षी दलले लिपुलेकबाट द्धिपक्षीय व्यापार गर्ने भारत र चीनको सहमतिपछि उत्पन्न विवाद समाधानका लागि कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका थिए । 

दुवै देशलाई पठाइएको कुटनीतिक नोट सम्बन्धमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा केही बताएको छैन । यसअघि समेत नेपालले लिपुलेकको सन्दर्भमा चीन र भारतलाई कूटनीतिक नोट पठाएको थियो । 


प्रतिक्रिया