भियतनामका उपराष्ट्रपति तीनदिने औपचारिक भ्रमणका क्रममा काठमाडौंमा

भाद्र ७, २०८२ | काठमाडौं
भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल आउनुभएको हो । उपराष्ट्रपति सुआनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवा र पर्यटनमन्त्री बद्री पाण्डे लगायतले स्वागत गर्नुभएको थियो । उपराष्ट्रपति सुआनको यो भ्रमण भियतनामको तर्फबाट पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच, भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको थियो । पछिल्ला वर्षमा नेपाल र भियतनामका पर्यटकको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको भन्दै मन्त्री राणाले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखेको उहाँको सचिवालयले जनाएको छ ।
यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठ समेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्कनु हुनेछ ।