स्पेनिस ला लिगाको उपाधि बार्सिलोनालाई

जेष्ठ ३, २०८२ | काठमाडौं
बार्सिलोनाले २८ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति सम्पन्न खेलमा एस्पान्योललाई २–० गोलले पराजित गरेको हो ।
बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १–१ गोल गरे ।
खेलको ५३ औं मिनेटमा यमालले ड्यानी ओल्मोको पासलाई नियन्त्रणमा लिँदै गोल गरे ।
त्यसपछि ८० औं मिनेटमा यमालमाथि फल गरेका डिफेन्डर लुइस कार्बेराले रातो कार्ड पाए ।
इन्ज्युरी समयमा यमालकै पासमा फर्मिनले गोल गर्दै जित सुनिश्चित गरे ।जितसँगै बार्सिलोनाले लिगको २ खेल बाँकी रहँदा दोस्रो स्थानको रियल म्याड्रिडसँग ७ अंकको अग्रता कायम गरेको छ ।
यस सिजन कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको बार्साले स्पेनिस फुटबलमा खेलेको सबै ट्रफी कब्जा गर्यो ।
रियलविरुद्ध सिजनको सबै क्लासिको जितेको बार्सिलोनाले दुवै कप फाइनलमा रियललाई नै हराएको थियो ।
बार्सिलोनाले अब आइतबार भिल्लारियलविरुद्ध खेल्ने छ ।