रियल म्याड्रिडले मालोर्कालाई २–१ ले हरायो

जेष्ठ २, २०८२ | काठमाडौं
ज्याकोबो रामोनको निर्णायक गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा मालोर्कालाई पराजित गरेको छ । सेन्टियागो बर्नबाउ स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली रियल म्याड्रिडले मालोर्कालाई २–१ गोलले हराएको हो ।
खेलको ११ औं मिनेटमा मार्टिन भाल्जेन्टको गोल मार्फत मालोर्काले अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछाडि परेको म्याड्रिडले दोस्रो हाफमा दुई गोल फर्कायो ।
खेलको ६८ औं मिनेटमा केलियन एमबाप्पेले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । रामोनले अतिरिक्त समयमा ५ औं मिनेटमा गोल गर्दै म्याड्रिड जित सुनिश्चित गरे ।
रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै एक दिन कुर्नपर्ने भएको छ । बार्सिलोनालाई अब उपाधि जित्न एस्पान्योल विरुद्धको खेलमा १ अंक जोडे पुग्छ । एक खेल कम खेलेको बार्सिलोना ८२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
दोस्रो स्थानको रियलको ७८ अंक छ । अन्य खेलमा भिल्लारियलले लेगानेसलाई ३–० ले, सेभिल्लाले लस पलमासलाई र अल्भेसले भ्यालेन्सियालाई समान १–० ले हराएको छ ।