कांग्रेस र एमालेबीच सरकारबारे परस्पर विरोधी अभिव्यक्ति

जेष्ठ २, २०८२ | काठमाडौं
संसदमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप चल्नु स्वभाविक हो । राष्ट्रिय मुद्धामा आफू अनुकुलको व्याख्या र टिप्पणीसहित सत्तापक्ष र प्रतिपक्षका सांसदले धारणा राखिरहेका हुन्छन् । तर पछिल्लो पटक सत्तारुढ नेपाली कंग्रेस र एमालेका सांसदले सरकारको विषयमा एक–आपसमा परस्पर विरोधी अभिव्यक्ति दिइरहेका छन् ।
प्रतिनिधिसभामा प्रि–बजेट छलफल जारी रहँदा कंग्रेसकै कतिपय सांसदले सरकारको नीति र बजेट तयारीबारे असन्तुष्टी जनाइरहेका छन् । त्यही असन्तुष्टी देखाउँदै एमालेका सांसदले सत्तापक्षबाटै सरकारको आलोचना गर्ने कामले सहकार्य बलियो नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद सूर्य थापाले सत्तारुढ दलका सांसद नै प्रतिपक्ष जस्तो देखिएको टिप्पणी गर्नुभयो ।
यसैबीच, प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कंग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी ओलीले बढी संख्यामा सल्लाहकार राखेको भन्दै आपत्ति जनाउनुभयो । एमालेका सांसदले सरकारको लगातार बचाउ गरेपनि कंग्रेसका कतिपय सांसदले भने विरोध गरेको पाइन्छ । यसअघि नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बालाजु–रानीपौवा–त्रिशुली सडक स्तरोन्नत्तिका लागि यसपटक समेत बजेट विनियोजन नभए बजेट पुस्तिका च्यात्ने चेतावनी दिनुभएको थियो ।
सांसद केसी, थापा र खतिवडाको अभिव्यक्तिले सत्तारुढ दलबीचको सहकार्य बलियो नभएको संकेत गरेका छन् । यसैबीच, माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका सांसदहरुले प्रतिपक्षमाथि गालीगलौजमा उत्रिने प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभामा आज बोल्दै उहाँले लोकतन्त्रमा प्रतिपक्षले खबरदारी गर्दा सत्तापक्ष जाइलाग्नु शोभनीय नभएको टिप्पणी गर्नुभएको हो ।