गभर्नर नियुक्त गर्न नयाँ सिफारिस समिति गठन

जेष्ठ २, २०८२ | काठमाडौं

दुई तिहाई बहुमतको सरकारले समयमै नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति गर्न विफल भएपछि नयाँ सिफारिस समिति गठन गरिएको छ । यसअघि गठित समितिका दुई सदस्यले राजिनामा दिएपछि सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन गरेको हो । नयाँ समितिमा महाप्रसाद अधिकारी र पोषराज पाण्डे तोकिनुभएको छ । 

अघिल्लो पटक गठित समितिका सदस्य विजयनाथ भट्टराई र डा. विश्व पौडेलले राजिनामा दिएपछि अर्को समिति बनाउनुपरेको हो । भट्टराईले समितिमा काम गर्न नसकिएको भन्दै राजिनामा दिनुभएको थियो भने अर्का सदस्य पौडेल गर्भनर बन्ने सम्भावना भएपछि समितिबाट अलग हुनुभएको थियो । यसैबीच, सरकारले केही दिनभित्र गभर्नर नियुक्ति हुने दावी गरेको छ ।

यसैबीच, प्रधानमन्त्री केपी ओलीले गभर्नरका लागि आफ्नो तर्फबाट कोही उम्मेदवार नभएको दावी गर्नुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मेरिटका आधारमा गर्भनर नियुक्त गर्नुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

गभर्नर नियुक्त गर्न नसकेको भन्दै आलोचना बढिरहेका बेला प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो । यता, प्रतिपक्षी दल रास्वपाका सांसदले राज्यका निकायमा दलीयकरण गर्ने प्रवृत्तिका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको आरोप लगाएका छन् ।

मुलुकको अर्थतन्त्र शिथिल भएको तथा सम्पत्ति शुद्धिकरणको मामिलामा ग्रे लिस्टमा परेको अवस्थामा समेत दुई तिहाईको सरकारले केन्द्रीय बैंकको नेतृत्व समयमा छनोट गर्न नसकेको भन्दै आलोचना भइरहेका छन् । स्वार्थ समूह हावी हुँदा गभर्नर नियुक्तिमा विलम्व भएको आरोप समेत लागेको छ ।  


प्रतिक्रिया