गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार

वैशाख २, २०८३ | काठमाडौं

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त ८ मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसबाट ४–४ जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ । एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बन्नुभएको छ । 

यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री नियुक्त हुनुभएकोे छ् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले उनीहरूलाई नियुक्त गर्दै शपथ गराउनुभएको हो । यस्तै कांग्रेसबाट जित शेरचन अर्थ मन्त्री बन्नुभएको छ ।

नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद तथा नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएकोे छ् । मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलभित्र असन्तुष्टि पनि सतहमा आएको छ । 

बागलुङबाट निर्वाचित कांग्रेसका प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले मन्त्री नपाएकोमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज सभामुख कृष्णप्रसाद धिताललाई इमेलमार्फत राजीनामा पठाउनुभएको छ । सभामुख धितालले राजीनामा प्राप्त भएको पुष्टि गर्दै आफू काठमाडौंमा रहेकाले पोखरा फर्किएपछि यसबारे निर्णय लिने बताउनुभएको छ । 


प्रतिक्रिया