कांग्रेसद्धारा तत्कालीन सभापति खड्कालाई ७ दिने स्पष्टीकरणको माग

रेडियो कान्तिपुर संवाददाता

वैशाख २, २०८३ | काठमाडौं

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण माग गरेको छ । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज बसेको बैठकले खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी अनधिकृत रुपमा विज्ञप्ति जारी गरेको ठहर गर्दै स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो । यसअघि नै बैठकले खड्कालाई सचेत गराइसकेको भएपनि पुनः सोही प्रकृतिको गतिविधि दोहोरिएको निष्कर्ष निकालिएको संयोजक गुरुङले बताउनुभयो ।

समितिका अनुसार खड्काले गत चैत १४ गते र त्यसपछि पुनः चैत ३० गते लेटरप्याड प्रयोग गरी आफू पार्टीको जिम्मेवारीमा रहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गर्नुभएको थियो । यसैबीच, समितिले निर्वाचनका क्रममा पार्टी सदस्यहरूले अनुशासन उल्लंघन गरेका घटनाबारे उजुरी दिने समयसीमा समेत बढाइएको बताएको छ । समितिले यसअघि तोकिएको चैत मसान्तको म्याद बढाएर २०८३ वैशाख मसान्तसम्म पु¥याउने निर्णय गरेको संयोजक गुरुङको भनाइ छ ।

अनुशासन समितिले तोकिएको समयसीमाभित्र प्राप्त हुने उजुरीमाथि मात्र कारबाही गरिने र त्यसपछि आउने उजुरीमाथि कुनै प्रक्रिया अगाडि नबढाइने जनाएको छ । नेता खड्कालाई स्पष्टीकरण सोधिएपछि कंग्रेसभित्रको विवाद झनै गहिरिएको छ ।


प्रतिक्रिया