नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु/ पार्टी नफुट्ने नेताहरुको भनाई
पुस २७, २०८२ | काठमाडौं
नेपाली कांग्रेसको बहुप्रतिक्षित विशेष महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममार्फत् कंग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा महाधिवेशनको उद्घाटन गर्नुभयो ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा नयाँ तालिकासहित वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि असन्तुष्ट महामन्त्री थापा र शर्माको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको हो ।
महाधिवेशन उद्घाटन समारोहमा बोल्दै कांग्रेस नेताहरुले पार्टीलाई मात्र नभई मुलुकलाई रुपान्तरणतर्फ अघि बढाउन विशेष महाधिवेशनको महत्व रहेको बताएका छन् । साथै उनीहरुले पार्टी विभाजन नहुने समेत बताएका छन् ।
यतिखेर राष्ट्रिय राजनीतिको ध्यान नेपाली कांग्रेसतर्फ मोडिएको छ । संस्थापन इतर पक्षले विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसभित्रको आन्तरिक राजनीति तरंगित छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन गरिएको हो । जसका लागि विभिन्न जिल्लाबाट प्रतिनिधि र ठूलो संख्या नेता कार्यकर्ता काठमाडौं आएका छन् । उद्घाटन सत्रमा बोल्दै महामन्त्री थापाले विशेष महाधिवेशनले नेता, नीति र विधानलाई परिवर्तन गर्न सक्ने बताए ।
सभापति शेरवहादुर देउवा पक्षीय पूर्व सांसद पुष्पा भुसाल, विनोद चौधरी, डिला सङ्ग्रौला, उदय शम्शेर राणा, देवेन्द्र कँडेललगायत नेताहरू भृकुटीमण्डप पुगेका थिए । त्यस्तै, देउवा पक्षका कर्णबहादुर बुढा, अर्जुन जोशी, राजन केसी, जानकी सिंह, अब्दुल सत्तार, दिलमान पाख्रिन, लगायत नेताले पनि विशेष महाधिवेशनलाई साथ दिएका छन् ।
संस्थापन पक्षका नेताको समर्थन पाएपछि विशेष महाधिवेशन पक्षधर उत्साहित भएका छन् । महामन्त्री थापाले मुलुकलाई भरोसा दिने पार्टी बनाउने खोजेको बताए ।
विशेष महाधिवेशनका कारण कांग्रेस विभाजन हुने आशंका गरिएका छन् । तर महामन्त्री शर्माले पार्टी विभाजित नहुने बताएका छन् ।
उद्घाटन सत्रपछि सोमवार विहानबाट बन्द सत्र शुरु हुने विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ । बन्दसत्रले लिने निर्णयबाट कंग्रेसलाई रुपान्तरणमा लैजाने महामन्त्री शर्माले बताए ।
यसैबीच, उद्घाटन सत्रलाई सम्वोधन गर्दै सभापति देउवा पक्षमा रहेका नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनको निर्णयलाई सबैले पालना गर्नुपर्ने बताए । त्यस्तै, उद्घाटन सत्रमा बोल्दै नेतृ पुष्पा भुषालले पार्टीमा अब गुटगत राजनीति अन्त्य गर्नुपर्ने बताइन् ।
संस्थापन इतर पक्षका नेताहरुले विशेष महाधिवेशनलाई पार्टी एकताको रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । विशेष महाधिवेशनका प्रतिनिधिहरुले पार्टीलाई सवल बनाउँदै मुलुकको रुपान्तरणमा अघि बढ्नुपर्ने बताएका छन् ।
यसैबीच, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा निकास ननिस्किँदासम्म आफू निरन्तर लडिरहने बताएका छन् । आइतवार विहान भिडियो सन्देश जारी गर्दै कोइरालाले पार्टी एकताको पक्षमा रहेको बताएका हुन् ।
नेता कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा सहयोग गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह समेत गरेका छन् । विशेष महाधिवेशनका लागि साथ नदिएको भन्दै आलोचित कोइरालाको भनाई छ ।
इतर पक्षले पार्टीको दोस्रो विशेष महाधिवेशन भनेपनि कांग्रेसको संस्थापन पक्षले मान्यता दिन नसकिने बताएको छ । विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौंका विभिन्न स्थानबाट निस्केको जुलुस भृकुटीमण्डपमा पुगेको थियो ।










