संस्थापन इतर पक्षको असहमतिकाबीच कंग्रेसको विशेष महाधिवेशन भोलिबाट शुरु हुँदै
पुस २६, २०८२ | काठमाडौं
संस्थापन पक्षको असहमतिका बीच नेपाली कंग्रेसका इतर पक्षको आयोजनामा भोलिबाट काठमाडौंमा पार्टी विशेष महाधिवेशन हुँदैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको विशेष महाधिवेशनको तयारी पुरा भएको नेताहरुले बताएका छन् ।
पहिलो दिन भोलि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन हुने आयोजक समितिले जनाएको छ । विभिन्न क्षेत्रबाट निस्केको र्याली भृकुटीमण्डप पुगेपछि अपरान्ह १ बजे विशेष महाधिवेशन उद्घाटन हुने भएको छ ।
विशेष महाधिवेशन पक्षधरले सभापति शेरवहादुर देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो दिएको बताएको छ । नेताहरुका अनुसार महाधिवेशन प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ । विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दावी गरेको छ ।
शिवाकोटीका अनुसार तनहुँ, झापा, धनुषा, रूपन्देही, मनाङ लगायतका जिल्लामा थप महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनका पक्षमा खुलेका छन् । विशेष महाधिवेशनका कारण कंग्रेस विभाजन हुने आंशका व्यक्त भएको छ । तर नेता सुवास पोखरेलले पार्टी विभाजन गर्न महाधिवेशन नगरिएको बताउनुभयो ।
यसैबीच, नेपाली कंग्रेसका ४७ जिल्लाका सभापति र उपसभापति लगायतले वक्तव्य जारी गर्दै आफूहरु विशेष महाधिवेशनको विपक्षमा रहेको बताएका छन् ।
सभापति देउवा र नेता डा. शेखर कोइराला पक्षका जिल्ला सभापति र उपसभापतिहरुले नियमित महाधिवेशनमा जोड दिदै आगामी चुनावमा केन्द्रित हुन आव्हान गरेका छन् । कंग्रेसले आगामी वैशाख अन्तिम साताका लागि नियमित महाधिवेशन गर्ने गरी नयाँ तालिका पारित गरेपछि रुष्ट पक्षले विशेष महाधिवेशन गर्न लागेको हो ।











