रास्वपासँग सहमति गरेर क्षति बेहोरेको घिसिङको भनाइ
पुस २६, २०८२ | काठमाडौं
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पुस १४ मा सहमति गरेपछिका १२ दिन अत्यन्तै पीडादायी भएको बताउनुभएको छ । उज्यालो नेपालको पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै घिसिङले एकतर्फी रूपमा रास्वपाले सहमति भंग गरेको पनि बताउनुभएको हो । घिसिङले रास्वपासँग सहमति गरेर आफूले क्षति बेहोरेको पनि बताउनुभयो ।
घिसिङले रास्वपाका नेताहरूले अलिखित सहमति कार्यान्वयनमा चासो नदेखाएको बताए । पुस १४ मा ७ बुँदे लिखित सम्झौताका अलावा अलिखित सहमति पनि भएको तर त्यो कार्यान्वयन नगरिएको उहाँको भनाइ थियो ।
घिसिङले संविधान, संघीयता, समावेशितालगायतका विषयमा पूरक सहमति गर्नका लागि आग्रह गरेको तर सुरुमा हुन्छ भनेर रास्वपा नेतृत्व पछि हटेको पनि घिसिङले बताउनुभयो। त्यस्तै, अध्यक्ष घिसिङले आगामी दिनमा उज्यालो नेपाल एक्लै चुनावी प्रतिस्पर्धामा जाने बताउनुभयो ।











