दुर्घटनाग्रस्त विमानलाई क्रेनले तानेर वाहिर निकालिदै

पुस १९, २०८२ | झापा

झापाको भद्रपुर विमानस्थलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको बुद्ध एयरको विमानलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा प्राविधिक सहित २५ जनाको टोली आवश्यक उपकरणसहित उद्धार तथा व्यवस्थापन कार्यमा खटिएको छ ।

सो टोलीमा बुद्ध एयरका प्राविधिक समेत सहभागी छन् । चन्द्रगढी विमानस्थलका प्रमुख किशोर खत्रीका अनुसार दुर्घटना भएको क्षेत्र सम्याउने तथा मिलाउने काम भइसकेको छ । दुर्घटनाग्रस्त विमानलाई क्रेनको सहयोगमा बाहिर निकाल्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

शुक्रबार राति दुर्घटनाग्रस्त सो विमानमा चालक दलसहित ५३ जना यात्रु सवार थिए । दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि विमानमा भने क्षति पुगेको छ । यसैबिच विमानको क्षतिको विस्तृत विवरण आउन केही दिन लाग्ने बताइएको छ । विमानस्थल भने सञ्चालनमा आइसकेको छ । 


प्रतिक्रिया