एनभीए भलिबलमा महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ हेल्प नेपाललाई उपाधि
पुस १९, २०८२ | काठमाडौं
एनभीए भलिबल च्याम्पियनसिपको नवौं संस्करणअन्तर्गत महिलातर्फको उपाधि न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोट्र्स क्लबले जितेका छन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित खेलकुद परिषद् राखेपको कभर्ड हलमा आज सम्पन्न महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।
पुलिसविरुद्ध न्यु डायमन्ड २५–१८, २५–१९ र २५–१८ को सेटमा विजयी भएको हो ।
यता, पुरुषतर्फ विभगीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बन्यो ।
हेल्प नेपालले आर्मीलाई २५–२१, २५–२१ र २५–२१ को समान सेट स्कोरले हराएको हो ।
पुस ११ गतेबाट सुरु भएको च्याम्पियनसिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोली गरी २० टोलीले सहभागिता जनाएका थिए ।











