लक्ष्य अनुसार ३० हजार क्विन्टल धान खरिद

पुस १९, २०८२ | बर्दिया

बर्दियास्थित खाद्य व्यवस्था तथा व्यापार केन्द्र राजापुरले लक्ष्य अनुसार ३० हजार क्विन्टल धान खरिद गरेको जनाएको छ । खाद्य केन्द्रका प्रमुख कमल पाण्डका अनुसार यस वर्ष खाद्य केन्द्रको ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थिया ।

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिका धान जोन भएकाले वर्षेनी यहा झण्डै ८० हजार क्युण्टल धान उत्पादन हुने गर्छ । यसैबिच सरकारले ३० हजार क्विन्टलको कोटा राख्दा अरु धान बिचौलियालाई सस्तोमा धान बेच्न बाध्य भएको गुनासो किसानले गरेका छन ।

सरकारले धानको कोटा नबढाएसम्म किसान सस्तोमा धान बेच्न बाध्य हुने राजापुर–४ का किसान हरी चौधरीले बताउनुभयो । यस वर्ष किसानको भिडलाइ मध्यनजर राख्दै खाद्यले कुपन प्रणाली लागु गरेको थियो । खाद्य तथा व्यवस्था व्यापार केन्द्र, राजापुरले गत कार्तिक १९ गते देखि धान खरिद गर्दे आएको थियो ।

यस वर्ष खाद्य केन्द्रले राजापुर बाहेक गुलरिया, शान्तिबजार र जयजगरमा धान खरिद डिपो स्थापना गरेको थियो । यस वर्ष सरकारले मोटा धान ३ हजार ४ सय ६३ रुपैया ८१ पैसा र मसिनो ३ हजार ६ सय २८ रुपैया ३३ पैसा मुल्य तोकेको छ । 


प्रतिक्रिया