नेपाली कंग्रेसमा महाधिवेशनको बिषयमा विवाद चर्किदै

रेडियो कान्तिपुर संवाददाता

पुस १९, २०८२ | काठमाडौं

महाधिवेशनको बिषयलाई लिएर पार्टीभित्र विवाद चर्किदै गएपछि नेपाली कंग्रेसका केही नेताले सहमतिको पहल शुरु गरेका छन् । विवाद मिलाउने प्रयासमा नेता डा. शेखर कोइराला पक्षीय नेताहरुले अनौपचारिक छलफल शुरु गरेका छन् ।

यसैक्रममा नेता कोइरालाले आफू पक्षीय नेतासँग पार्टीभित्र उत्पन्न विवाद र सहमतिको मिलनविन्दूको उपायबारे परामर्श गर्नुभएको छ । आफूहरुले पार्टीमा सहमतिको खोजी गर्नेबारे छलफल गरेको उपसभापति धनराज गुरुङले बताउनुभयो ।

शुरुमा विशेष महाधिवेशनको पक्षमा देखिएपनि नेता कोइरालाले पछिल्लो पटक सभापति शेरवहादुर देउवालाई साथ दिएको महामन्त्री थापा पक्षका नेताले आरोप लगाउँदै आएका छन् ।

नेता कोइरालाले भने आजको छलफलमा धारणा राख्दै कार्यसम्पादन समितिमा बहुमतको निर्णय मान्न आफू बाध्य भएको बताउनुभएको थियो । पार्टीको आन्तरिक विवाद चर्काउन नहुने पक्षमा कोइराला पक्षधर नेताहरु देखिएका छन् । 

नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिसँग समेत छलफल गर्ने तयारी गर्नुभएको नेताहरुले बताएका छन् । केन्द्रिय कार्यसम्पादन समितिले आगामी वैशाखको अन्त्यमा नियमित महाधिवेशन गर्ने निर्णय गरेपनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुषमै विशेष महाधिवेशन आयोजना गर्ने बताएपछि कंग्रेसको आन्तरिक विवाद बढ्दै गएको छ ।

यसैबीच, महामन्त्रीद्धय थापा र शर्माले विशेष महाधिवेशनको सन्दर्भमा कानूनी व्यवसायीहरुसँग छलफल गर्नुभएको छ । सो क्रममा दुवै महामन्त्रीले विशेष महाधिवेशनबाट आफूहरु पछाडी नहट्ने बताएका थिए । 


प्रतिक्रिया