अमेरिकाद्धारा भेनेजुयलामा आक्रमण/राष्ट्रपति मदुरोलाई पक्राउ गरिएको ट्रम्पको दावी

रेडियो कान्तिपुर संवाददाता

पुस १९, २०८२ | काठमाडौं

महिनौदेखिको राजनीतिक र कुटनीतिक तनावका बीच अमेरिकाले दक्षिण अमेरिकी मुलुकमा भेनेजुयलामा आक्रमण शुरु गरेको छ । भेनेजुयलाको राजधानी कराकासका विभिन्न स्थानमा बिस्फोटका घटना भएका छन् । भेनेजुयलामाथि लागुऔषध तस्करीलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको अमेरिकाले त्यहाँ आक्रमण गरेको हो ।

आक्रमण र विस्फोटका घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजयलाका राष्ट्रपति निकोलास मदुरोलाई नियन्त्रणमा लिएको दाबी गर्नुभएको छ । ट्रम्पले मदुरोलाई भेनेजुयलाबाहिर लगिएको दाबी गर्दै उहाँकी पत्नीलाई समेत नियन्त्रणमा लिएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मदुरोलाई नियन्त्रणमा लिएको दाबी गरेका ट्रम्पले आफ्नो अभियान सफल भएको भन्दै सैनिक र योजनाको प्रशंसा गरेको समाचारमा जनाइएको छ । यसैबीच, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत सम्वोधन गर्दै राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी दिन अमेरिकालाई आग्रह गरेको विवरण सार्वजनिक भएका छन् ।

अमेरिकी आक्रमणपछि भेनेजुयला सरकारले आपतकाल घोषणा गरेको छ । उसले राजधानी कराकास, मिरान्डासहितका केही राज्यमा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ । भेनेजुयलाका अधिकारीहरुले अमेरिकाको सैन्य आक्रमणको कडा निन्दा गर्दै देशभर प्रतिकार गर्न आह्वान गरेका छन् ।

पछिल्ला महिनामा ट्रम्प प्रशासनले मदुरोमाथि लागुऔषध तस्करी र आपराधिक समूहसँग सम्बन्ध भएको आरोप लगाउँदै आर्थिक नाकाबन्दी समेत लगाउँदै आएको छ । सन् २०२५ को अगस्टको अन्त्यदेखि अमेरिकाले क्यारिबियन क्षेत्रमा ठूलो संख्यामा सेना, युद्धपोत र विमान तैनाथ गरेको थियो ।

अमेरिकी सेनाले लागुऔषध तस्करीको आरोपमा साना जहाजहरुमा आक्रमण गरेको र त्यसक्रममा धेरै मानिसको ज्यान गएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अघिल्लो साता अमेरिकाले भेनेजुएलाको तेल उद्योगलाई लक्षित गर्दै केही ट्यांकर नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएका थिए ।

यसैबीच भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणलाई लिएर केही देशले विरोध जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएको घोषणा गरेपछि रुस र इरानसहितका देशहरुले विरोध गरेका हुन् ।

इरानले अमेरिकी आक्रमणलाई भेनेजुएलाको “राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको घोर उल्लंघन” भन्दै निन्दा गरेको छ । त्यस्तै, रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाको कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

रुसले तनाव बढ्न नदिन र संवादको माध्यमबाट समाधान खोज्न तथा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग समेत गरेको छ । भेनेजुयलामाथि अमेरिकी आक्रमणसँगै ल्याटिन अमेरिका क्षेत्रमा नयाँ तनाव शुरु भएको छ ।


प्रतिक्रिया