पुलिस क्लब बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबलको फाइनलमा

वैशाख १७, २०८२ | काठमाडौं
विभागीय टोली नेपाल पुलिस क्लब नुवाकोटमा जारी बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले संकटा क्लबलाई १–० गोलले हराएर उपाधि नजिक पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुलिसले एक गर्यो । पुलिसका लागि खेलको ५७ औं मिनेटमा मीना देउवाले गरेको गोल निर्णायक बन्यो ।
पुलिसले अब उपाधिका लागि भोली हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा एपीएफ क्लब र रौतहट जिल्ला फुटबल संघको टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल बैशाख २० गते हुनेछ ।