दक्षिण पूर्वी एसियाली देशलाई १० अर्ब सहयोग गर्ने जापानको घोषणा
वैशाख ३, २०८३ | काठमाडौं
जापानले एसियाली देशहरुमा उत्पन्न इन्धन संकट समाधानका लागि १० अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । इरान युद्धका कारण उत्पन्न ऊर्जा आपूर्ति सहज बनाउनका लागि दक्षिण–पूर्वी एसियाली राष्ट्रहरुलाई लक्षित गर्दै जापानले सो सहयोग गर्ने जनाएको हो । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले एसियाली देशका नेताहरुसँग अनलाइन बैठक गरेपछि सो सहयोग गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ ।
जापान र एसियाली देशहरु एक अर्कामा निर्भर रहेको जनाउँदै प्रधानमन्त्री ताकाइचीले सो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ । जापान दक्षिण–पूर्वी एसियाबाट पेट्रोलियमजन्य वस्तुहरुमा निर्भर रहेको देश हो । सो सहकार्य अन्तर्गत एसियाली देशहरुलाई कच्चा तेल तथा पेट्रोलियम पदार्थ खरिद गर्न सहयोग गरिनेछ, साथै विभिन्न मुलुकबीच हुने आपूर्ति श्रृंखला कायम राख्न र भण्डारण क्षमता विस्तार गर्नका लागि जापानले सहयोग गर्ने बताएको छ ।
जापानको विदेश मन्त्रालयका अनुसार १० अर्ब डलरको यो आर्थिक सहयोग दक्षिण–पूर्वी एसियाली राष्ट्रहरुको संगठन आसियानका देशहरुले एक वर्षमा आयात गर्ने कच्चा तेल बराबरको हो ।









