चीनको जन्मदर सन् २०२५ मा अहिलेसम्मकै न्यून रहेको तथ्याङ्क
माघ ५, २०८२ | काठमाडौं
चीनको जन्मदर सन् २०२५ मा अहिलेसम्मकै न्यून रहेको बताइएको छ । सरकारद्वारा विभिन्न योजना लागू गरिए पनि जनसंख्या लगातार घटेको सरकारी तथ्यांकले देखाएको छ।
आज सार्वजनिक गरिएको तथ्यांकअनुसार सन् २०२५ मा चीनको जन्मदर प्रति हजारमा जनसंख्यामा ५ दशमलव ६३ पुगेको छ । सोे आंकडा सन् १९४९ मा कम्युनिष्ट पार्टी सत्तामा आएयतासबैभन्दा कम भएको बीबीसीले जनाएको छ ।
त्यस्तै, मृत्युदर प्रति हजारमा ८ दशमलव ०४ पुगेको छ । जुन सन् १९६८ पछिकै उच्च दर हो । सन् २०२५ को अन्त्यसम्म चीनको कुल जनसंख्या ३९ लाख ३९ हजारले घटेर करिब १ अर्ब ४० करोडमा सीमित भएको छ ।
यो अघिल्लो वर्षको तुलनामा तीव्र गिरावट हो । बढ्दो वृद्ध जनसंख्याबीच बेइजिङले युवा पुस्तालाई विवाह र सन्तान जन्माउन प्रोत्साहित गर्ने प्रयास तीव्र पारेको छ।
सन् २०१६ मा लामो समयदेखि लागू गरिएको एक सन्तान नीति खारेज गर्दै दुई सन्तान नीति ल्याइएको थियो। यद्यपी, अपेक्षित परिणाम नआएपछि सन् २०२१ मा प्रत्येक दम्पतीलाई तीन सन्तानसम्म जन्माउन अनुमति दिइएको थियो ।











