आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाउन दलहरु व्यस्त
माघ ५, २०८२ | काठमाडौं
दलहरुले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार धमाधम टुंगो लगाउन थालेका छन् । भोलि मनोनयन दर्ता हुने भएकाले पार्टीबाट टिकट पाएका उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा पुग्ने क्रम जारी छ ।
नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा लगायत दलले उम्मेदवारहरुलाई टिकट दिएका छन् । नेपाली कांगे्रसले पूर्व सभापति शेरवहादुर देउवा र डा. शेखर कोइराला पक्षलाई समेत समेटेर टिकट प्रदान गरेको बताइएको छ ।
टिकट पाउने नेताहरुको सूचि भने सार्वजनिक भइसकेको छैन । एमालेले केही स्थानमा बाहेक अधिकाश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । त्यस्तै, नेकपाले सबै क्षेत्रमा उम्मेदवार तय भएको बताएको छ ।
रास्वपाले पनि टिकट दिन शुरु गरेको छ । राप्रपाले आज साँझसम्म उम्मेदवार टुंगो लगाउने बताएको छ । मनोनयन दर्ताका लागि दलका नेताहरु आफ्नो क्षेत्रमा पुग्न थालिसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुग्नुभएको छ ।
त्यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पूर्वी रुकुम जानुभएको छ । यसअघि चुनाव नलड्ने घोषणा गरेपनि प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा बाबुराम भट्टराईले गोरखा–२ बाट प्रतिस्पर्धा गर्ने तय भएको छ ।
कतिपय जिल्लामा उम्मेदवार बन्न नेताहरुले पार्टी परिवर्तन गरेको विवरण प्राप्त भएका छन् । त्यस्तै, पार्टीबाट टिकट पाएका नेताहरुले स्थानीय तह र प्रदेशसभाबाट राजिनामा दिएका छन् ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ क्षेत्रमा प्रत्यक्षतर्फ निर्वाचन हुन लागेको हो ।











