कंग्रेसमा एकताका लागि पहलः सभापति थापालाई स्वीकार गर्ने देउवा पक्षको संकेत
माघ ५, २०८२ | काठमाडौं
विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कंग्रेसको केन्द्रिय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि रुष्ट बनेको शेरवहादुर देउवा पक्षलाई सहमतिमा ल्याएर पार्टीको आन्तरिक एकता जोगाउन पहल शुरु भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको टिकट वितरणमा सबै पक्षलाई समेटेर पार्टी एकता जोगाउन नेताहरु सघन सम्वादमा रहेको बुझिएको छ । सहमतिका लागि सभापति गगन थापा र निवर्तमान सभापति शेरवहादुर देउवावीच छलफल भइरहेको नेताहरुले बताएका छन् । थापा निकट एक नेताका अनुसार, टिकट वितरणमा सबै पक्षलाई समेट्ने र एकताको सन्देश दिने गरी मनोनयन दर्तामा सहमति खोज्ने पहल भइरहेको हो । देउवा पक्षीय नेताहरुले सभापति थापाको हस्ताक्षरमा टिकट लिन तयार रहेको र पार्टी एकता जोगाउन प्रतिवद्धता रहेको धारणा आपसी सम्वादमा राखेका छन् ।
यसैबीच, देउवापक्षीय नेता पूर्णबहादुर खड्काले पार्टीबाट विद्रोह नगर्ने बताउनुभएको छ । हिजो राति सामाजिक सञ्जालमार्फत खड्काले नयाँ पार्टी खोल्ने अथवा स्वतन्त्र उम्मेदवारी दिने जस्ता चर्चामा सत्यता नभएको बताउनुभएको छ । खड्काले भन्नुभएको छ–निर्वाचन आयोगको निर्णयका विरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि न्याय पाउने विश्वासका साथ हामी सर्वोच्च अदालत गएका हौँ । अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ । रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ ।’
देउवा पक्षका अर्का नेता मीन विश्वकर्माले पनि चुनावमा मिलेर जानुपर्ने धारणा राख्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ– हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो, आधामा देउवाले गर्नु भयो, वांकीमा अव गगनले गर्नु हुन्छ, सवैको सहमतिमा उम्मेदवार चयन गरौ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण वनाऔ ! नेता विश्वकर्माले सहमतिका लागि सबै शीर्ष नेता सम्वादमा बस्नुपर्ने र घेरावन्दीवाट वाहिर आउनुपर्ने धारणा समेत राख्नुभएको छ ।









