तातो हावाको लहरसँगै अष्ट्रेलियामा डढेलोको जोखिम बढ्ने चेतावनी

पुस २४, २०८२ | काठमाडौं

तातो हावाको लहर फैलिएपछि अष्ट्रेलियामा डढेलोका घटना बढ्न सक्ने चेतावनी जारी गरिएको छ । मुलुकका अधिकांश भागमा तातो हावा तीव्र गतिमा फैलिएपछि क्विन्सल्यान्ड बाहेकका राज्यहरुमा चेतावनी जारी गरिएको हो ।

 ती राज्यमा अझै केहिदिन उच्च तापक्रम रहने मौसम पूर्वानुमान अनुसार डढेलोका घटना हुन सक्ने चेतावनी जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो पटक भिक्टोरिया राज्यले भोलिका लागि आगोजन्य काम गर्न रोक लगाएको छ । 

आगालगीको जोखिमयुक्त क्षेत्र मानिएको सो राज्यका ४ सय ५० विद्यालय र बालसुरक्षा केन्द्रहरु बन्द गर्ने तयारी भएको बीबीसीले जनाएको छ । भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक व्यापक रुपमा परिचालन गरिएको तथा केहि क्षेत्रमा लागेको आगो निभाउनका लागि पानी बोकेका १२ वटा विमान परिचालन गरिएको समाचारमा उल्लेख छ । 


प्रतिक्रिया