राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबको विजयी सुरुवात
पुस ३०, २०८२ | काठमाडौं
आजबाट सुरु राष्ट्रिय लिग फुटबलमा ललितपुरको फ्रेण्ड्स क्लबले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको उद्धघाटन खेलमा सुर्खेतको काँक्रेविहार युथ क्लबलाई ३–१ गोलले पराजित गर्दै फ्रेण्ड्सले सुखद सुरुवात गरेको हो ।
पहिलो हाफ १÷१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्सले दुई गोल थप्यो । फ्रेन्ड्सको जितमा प्रशान्त लक्क्षम, प्रवेश बस्नेत र आशिष चापागाँईले एक÷एक गोल गरे । काँक्रेविहारका लागि कमल श्रेष्ठले एक गोल गरे । जितसँगै फ्रेन्ड्सले ३ अंक जोडेको छ ।
यस्तै, अर्को खेलमा अहिले श्री भगवती र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
श्री भगवती बी डिभिजनबाट ए डिभिजनमा बढुवा भएको क्लब हो । यस्तै चर्च ब्वाईजले पछिल्लो पटक २०७९–८० मा भएको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भएको लिगमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार गरी १७ टोलीको सहभागी हुनेछन् ।
सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कुल १ सय ३६ खेल हुनेछ । राष्ट्रिय लिगको विजेताले उपाधि सहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।











