निर्वाचन सुरक्षाका लागि सरकारी निकाय तयारी अवस्थामा छन् : गृहमन्त्री
पुस ३०, २०८२ | काठमाडौं
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको माहौल देशभरि बनिसकेकाले शान्ति–सुरक्षाका लागि सरकारी सबै निकाय तयार अवस्थामा रहेको बताउनुभएको छ ।
गृह मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री अर्यालले एकाध घटना हुँदैमा मुलुकमा अशान्ति रहेको भ्रम फैलाउनु उचित नरहेको जिकिर गर्नुभयो । उहाँले भ्रम फैलाउनेलाई कानुनी दायरामा ल्याउने काम पनि भइरहेकाले आगामी निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुने दाबी गर्नुभयो
मन्त्री अर्यालले जेन–जी आन्दोलनमा ध्वस्त रहेका ४ सय ५० वटा संरचना जनसहभागितामा निर्माण भइरहेको र लुटिएका तर फिर्ता नआएका हतियार ल्याउन विशेष सुरक्षा योजना लागू गर्न लागिएको जानकारी दिनुभयो ।
यसैबीच, मधेश प्रदेशका ८ वटै जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको गोष्ठीमा निर्वाचनलक्षित शान्ति–सुरक्षाबारे दिनभर छलफल हुने बताइएको छ ।











