नेपाली कांग्रेस अन्ततः विभाजित
पुस ३०, २०८२ | काठमाडौं
नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस विभाजित भएको छ । मुलुक आसन्न निर्वाचनतर्फ उन्मुख भएका बेला आन्तरिक विवादको चपेटामा फसेको नेपाली कांग्रेस अन्ततः विभाजनमा पुगेको हो । विशेष महाधिवेशनको अगुवाइ गरेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई नेपाली कंग्रेसको संस्थापन पक्षले कार्यसमिति बैठकबाट निर्णय गराउँदै पार्टीबाट निष्काशन गरेको छ । थापा र शर्माले भने विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने तयारी गरेका छन् ।
यस्तो अवस्थामा कंग्रेसको आधिकारिकताको विवाद निर्वाचन आयोग पुग्ने भएको छ । विशेष महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता प्रक्रिया शुरु भएको केही घण्टापछि कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई अनुशासन विपरित कार्य गरेको भन्दै पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो ।
विधान अनुसार आयोजना गरिएको विशेष महाधिवेशनपछि सहमतिका लागि शृङखलावद्ध प्रयास भएपनि त्यसले सार्थकता नपाउँदा कांग्रेस विभाजनको तहमा पुगेको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विशेष महाधिवेशनमा सहभागी भएका अन्य नेताहरुलाई भने जिम्मेवारीमा फर्किन आग्रह गर्ने निर्णय भएको बताउनुभयो।
यसअघि सभापति शेरवहादुर देउवासहित संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच सहमतिका लागि पहल भएका थिए । विशेष महाधिवेशन पक्षधर नेताले सहमतिका लागि भन्दै देउवालाई कार्यकारी भूमिकाबाट अलग गर्नुपर्ने लगायत सर्त अघि सारेका थिए ।
तर त्यसमा एकमत हुन नसकेपछि विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता गरिएको थियो । थापाले सभापतिमा तथा नेता शर्मा र प्रदीप पौडेलले महामन्त्रीका लागि मनोनयन दर्ता गरेको विवरण सार्वजनिक गरिएको थियो । योसँगै केन्द्रिय कार्यसमितिले विशेष महाधिवेशन पक्षका प्रमुख तीन नेतालाई कारवाही गरेपछि कांग्रेस विभाजित भएको हो ।











