कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनमा अन्योल
पुस २९, २०८२ | काठमाडौं
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरिएपनि अन्योल देखिएको छ । मनोनयनका लागि फारम वितरण गरिएको छ तर मनोनयन पत्र दर्ता अझै हुन सकेको छैन । विशेष महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार मनोनयन पत्र दर्ता गर्ने समय साँझ साढे ६ देखि साढे ७ बजेसम्म कायम गरिएको छ । यसअघि मनोनयन दर्ता गर्ने समय अपरान्ह २ देखि ३ बजे तोकिएपनि तालिका हेरफेर गरिएको हो ।
बन्द सत्रमा ध्वनि मतले पारित गरेको कार्यविधि अनुसार नयाँ केन्द्रीय समिति चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको हो । नेताहरुका अनुसार पुरानै विधान अनुसार कार्यसमिति चयन गर्न लागिएको हो ।
सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ जना रहनेछन् । त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चुनिने छन् । निर्वाचन कार्यतालिका सार्वजनिक गरिएपनि सहमतिको प्रयास जारी रहेकाले थप प्रक्रिया अवरुद्ध भएको हो ।









