रवि आज रिहाइ हुने

पुस ४, २०८२ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज थुनामुक्त गरिदैछ ।

उच्च अदालत तुलसीपुरको हिजोको फैसला अनुसार लामिछानेलाई आज रिहा गर्न लागिएको हो ।

रिहाइका लागि आवश्यक कागजात तयार गर्नु पर्ने भएकाले नख्खु कारागारमा रहेका लामिछानेलाई आज भैरहवा लगिने छ ।

जिल्ला अदालत रुपन्देहीमा स्वयं उपस्थित भएर कागजात लिनुपर्ने भएकाले लामिछानेलाई भैरहवा लैजान लागिएको कारागार प्रशासनले जनाएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बराबरको रकम बुझाएर लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

उच्चले यसअघि भएको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

लामिछानेले पहिल्यै जिल्ला अदालत रुपन्देहीमा बैंक जमानत बुझाइसकेकाले अब कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी छ ।

सोही प्रक्रियाकालागि लामिछानेलाई केहीबेर अघि बुद्ध एयरको जहाजमार्फत रुपन्देही लगिएको रास्वपाका नेता प्रमोद न्यौपानेले जानकारी दिनुभयो ।

सुप्रिम सहकारीमा सभापति लामिछाने, छविलाल जोशी र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ ।

रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ ।

रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गर्दै आउनु भएको थियो । 


प्रतिक्रिया