पूर्वी नेपालमा पहिलो पटक घर निर्माण महोत्सव हुने

जेष्ठ २, २०८२
नयाँ घर निर्माण तथा पुराना घरहरुको मर्मत सम्भारको लागि आवश्यक सीप, प्रविधि लगायतको बारेमा सचेतना जगाउने उद्धेश्यसहित पूर्वी नेपालमा पहिलो पटक घर निर्माण महोत्सव हुने भएको छ । इटहरीस्थित रोयल रिसोर्टमा भोलि हुने महोत्सवमा घर बनाउनुअघि र पछी अपनाउनुपर्ने विभिन्न प्राविधिक तथा सैद्धान्तिक पक्षका बारेमा जानकारी गराइने स्किल सेवाका पूर्बी नेपाल शाखा प्रमुख सुगन्ध मिश्रले बताउनुभयो ।
घर निर्माण सम्बन्धी परामर्श दिदै आएको स्किल सेवाको आयोजनामा हुने महोत्सवमा घरधनी, निर्माण ब्यवशायी, इञ्जिनियर, वास्तुकलाविद, उद्यमी र विद्यार्थी गरी २ हजार ५ सय जनाको सहभागीता रहने बताइएको छ । महोत्सवले घरको आधुनिक र पारम्पारिक डिजाइन, खाली ठाँउ, विजुली, हावापानीको उचित प्रयोग र गुणस्तरिय विचारहरुलाई प्रस्तुत गर्नुका साथै अवसर समेत प्रदान गर्ने स्किल सेवाका पूर्बी नेपाल शाखा प्रमुख मिश्रले बताउनुभयो ।
पूर्वका प्रमुख शहरहरु धरान, बिराटनगर, इटहरी, दमक लगायतका ठाँउहरुमा घर निर्माणकर्ताको कमी र घर धनीहरुलाई प्राबिधिक ज्ञान नहुदा विभिन्न समस्या देखा पर्ने हुँदा त्यसैलाई लक्षित गरी महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक बिजय कार्कीले बताउनुभयो ।