बालिका र किशोरीमाथि हुने यौन हिंसाका घटना बढ्दै

माघ ३, २०८२ | काठमाडौं

नेपाल प्रहरीको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने बालिका र किशोरीमाथि हुने यौन हिंसाका घटना बढ्दै गएका छन् । यौन हिंसाका घटना अधिकांश परिवारभित्रका सदस्य, चिनेजानेका, छिमेकी र नातेदारबाट भएको पाइएको छ । त्यस्तै, प्रविधिको दुरुपयोग पनि बालिकामाथिको हिंसासँग जोडिएका छन् ।

नेपाल प्रहरीका अनुसार आर्थिक बर्ष २०७९/८० मा १ हजार ७ सय ७२ जना बालिका जबरजस्ती करणीसहित यौन हिंसाको घटनामा परेका थिए । उनीहरुमध्ये १० वर्ष मुनिका ३ सय ७५ जना र ११ वर्षदेखि १६ वर्ष उमेर समूहका बालिका १ हजार ३ सय ९३ जना रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।

त्यस्तै, आर्थिक बर्ष २०८०/८१ मा २ हजार २ सय ५५ बालिका जबरजस्ती करणीको घटनाबाट पीडित भएका थिए । सो आर्थिक बर्षमा १० वर्षमुनिका बालिका ३ सय ७६ जना र ११ देखि १४ उमेर समूहका ७ सय ७७ जना, १५ देखि १६ उमेर समूहका ६ सय ७३ जना तथा १७ देखि १८ उमेर समूहका ४ सय २९ जना पीडित भएको विवरण प्रहरीको छ ।

त्यसैगरी आर्थिक बर्ष २०८१/८२ मा २ हजार ३५ जना बालिका यौन हिंसामा परेका छन् । तीमध्ये १० वर्ष मुनिका ३ सय ५१ जना, ११ देखि १४ वर्ष उमेर समूहका ६ सय ९० जना, १५ देखि १६ वर्ष उमेर समूहका ६ सय १६ जना तथा १७ देखि १८ उमेर समूहका ३ सय ७८ जना यौन हिंसाको चपेटामा परेका थिए ।

बालिका र किशोरीमाथि भइरहेका हिंसाबारे जानकारी दिदै नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेले भने, ‘पछिल्लो समय नेपालमा बालिकाहरु सजिलै प्रलोभनमा पर्ने भएकाले यस्ता घटनाहरु दोहोरीने गरेका छन् । विशेष गरेर आफुलाई समस्या परेको अभिभावकलाई नबताउने र त्रासमा बस्ने हुदाँ थप समस्या सृजना भएको छ ।’

नेपाल प्रहरीको अनुसन्धानले बालिकाहरु जबरजस्ती करणीको घटनाबाट पीडित हुनुमा प्रविधिको दुरुपयोग पनि एक हो । सामाजिक सञ्जालको माध्यमबाट सजिलै साथी बन्ने र त्यसको अनुचित फाइदा उठाएर यौन हिंसाको घटना बढ्दै जाने प्रवृत्ति हुर्किएको हो । ११ देखि १४ वर्ष उमेर समूहका बालिका बढी मात्रामा पीडित हुनुले त्यसलाई पुष्टि गरेको छ । 

सामाजिक सञ्जालबाट जोडिएका व्यक्तिलाई सजिलै विश्वास गरेर प्रलोभन र ललाई फकाइमा पर्ने उमेर भएकाले ११ वर्ष देखि १४ वर्ष उमेर समूहका बालिका यौन हिंसाको मारमा पर्दै आएको देखिन्छ ।

प्रहरीको तथ्याङ्क र विवरणलाई हेर्दा आफन्त, चिनजानका व्यक्ति र सहयोग गर्ने बहानामा बालिकाको सम्पर्कमा हुने व्यक्तिबाटै त्यस्ता घटना भएका छन् । कतिपय सन्दर्भमा कानूनी व्यवस्थाप्रति ज्ञान नहुँदा समेत यौन हिंसाका घटना बढेको विज्ञहरुको भनाइ छ ।

जवरजस्ती करणी लगायत हिंसा गर्ने व्यक्तिलाई हुने कानूनी कारवाहीका प्रावधानबारे वरिष्ठ अधिवक्ता मिरा ढुङगानाले भनिन्, ‘कतिपय अवस्थामा कानुनी सजायको ज्ञान नभएर समेत बारम्बार एउटै व्यक्ति यौनजन्य घटनामा संलग्न भएको पाईन्छ् । यद्यपी बालिका तथा किशोरी आफै पनि सचेत रहन आवश्यक छ ।’

यौन हिंसाको मारमा परेका बालिका र किशोरीमध्ये आर्थिक रुपमा कमजोर र विपन्न समुदायका बढी पाइन्छ । जसले गर्दा उनीहरुले घटना लुकाएर बस्नुपर्ने अवस्था छ । आर्थिक रुपमा सक्षम व्यक्ति त्यस्ता घटना संलग्न हुँदा पहुँचको भरमा उन्मुक्ति पाउने घटनालाई गम्भीर रुपमा लिनुपर्ने विज्ञहरुको सुझाव छ । 

अर्कोतर्फ चिनजान भएका र पारिवारिक सदस्यबाट पीडित भएका बालिकालाई यौन हिंसाका घटना सार्वजनिक भएमा थप समस्यामा पार्ने चिन्ता र डर उत्पन्न हुने गरेका छन् । ललितपुरको पाटन अस्पतालस्थित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख सृजना कुँवरले भनिन्, ‘पीडितलाई नबुझेर दोष दिने परिपाटिले थप समस्या निम्तने गर्दछ । त्यसैले पीडितले आत्महत्या पनि गर्न सक्छ ।’

कतिपय सन्दर्भमा सामाजिक संरचना र पारिवारिक दवाव अनि कानूनी झमेलाले समेत यौन हिंसाका घटना बाहिर नआएको हुन सक्ने सरोकारवालाको भनाइ छ । हिंसाबाट पीडित हुने बालिका र किशोरीले परिवारका सदस्य वा आफन्तको सहयोग लिएर मात्र न्यायको खोजी गर्न सक्ने अवस्था विद्यमान छ ।

त्यसैले कानुनी सचेतना वृद्धि गराउँदै हिंसामुक्त समाज निर्माणका लागि सम्वन्धित सबै पक्षबाट प्रभावकारी कार्यसम्पादन र सहयोगको अपेक्षा गरिएको छ । 




प्रतिक्रिया