जसपा नेपाल र लोसपाबीच एकता गर्ने सहमति

रेडियो कान्तिपुर संवाददाता

पुस १५, २०८२ | काठमाडौं

मधेशवादी दुई दल जसपा नेपाल र लोसपाबीच एकता गर्ने सहमति भएको छ । पछिल्लो राजनीति घटनाक्रमले संघीयता, समावेशिता र समानुपातिक प्रणाली खतरामा परेको भन्दै यी दुई दलले एकता गर्ने निर्णय गरेका हुन् । एकीकृत पार्टीको नाम र संगठनात्मक संरचनाबारे भने निर्णय हुन बाँकी छ ।

यसअघि गत २४ मंसिरमा लोसपासँग हृदयेश त्रिपाठीको प्रगतिशील पार्टी र बृषेशचन्द्र लालको तराई–मधेश लोकतान्त्रिक पार्टी एकीकृत भएका थिए । त्यसपछि जसपा नेपालसँग एकताको सहमति भएको हो । अशोक राई नेतृत्वको जसपाबाट फुटेर आएका रेणु यादव, प्रदीप यादव, नवलकिशोर साहलगायत नेताको समूह पनि यो एकतामा सहभागी भएको छ ।

हिजो एकताको सहमतिपत्रमा उपेन्द्र यादव र रेणु यादवले हस्ताक्षर गर्नुभएको थियो । एकीकरणपछि सो पार्टी मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दल बन्नेछ । १ सय ७ सदस्यीय प्रदेशसभामा हाल जसपा नेपालका १९ र लोसपाका ९ सांसद छन् । जसपा नेपालका प्रदेश सांसद सरोजकुमार सिंह र लोसपाका अभिराम शर्मा निलम्बित छन् ।

यी दुवै दल मिल्दा मधेश प्रदेशमा निलम्बितबाहेक २६ प्रदेश सांसद हुन्छ । यसअघि ठूलो दल रहेको एमालेको मधेश प्रदेशमा २५ सांसद छन् । मधेश प्रदेश सरकारमा कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई यी दुवै दलको समर्थन छ । जसपा नेपालले प्रतिनिधिसभा निर्वाचन २०७९ मा १२ सिट जितेको थियो ।

लोसपाको भने ४ सिट थियो । यो एकताले लामो समयदेखि अलग रहेका मधेशका दुई मुख्य नेता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि एक ठाउँमा ल्याएको छ । विगतमा फुट्दै–जुट्दै गरेका मधेशवादी दलहरू जेन–जी विद्रोहपछि पुनः एकीकृत भएका हुन् । 


प्रतिक्रिया