राप्रपाका वरिष्ठ नेता सुवेदीद्वारा आयोगमा उजुरी

असार २९, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिनु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले यही असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनीत गर्नु भएको थियो । सोही निर्णय विरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा र कुन्ती शाहीसहित आज सुवेदी निर्वाचन आयोग पुग्नु भएको थियो । आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिन पुगेको प्रतिक्रिया दिनुभयो ।
उहाँले अध्यक्ष लिङदेनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाउनुभयो । पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाइएको, केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय नभएको उहाँको जीकिर थियो । राजसंस्था पुनःस्थापनको आफूहरुको आन्दोलन जारी रहेको पनि उहाँले बताउनुभयो । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति संयोजक बनेका सुवेदीलाइ चैत १५ गतेको तीनकुने घटनापछि प्रहरीले घरभित्रै निगरानीमा राखेको थियो । जेठ २१ मा नवराज सुवेदी, राप्रपा, राप्रपा नेपाललगायतका राजावादी राजनीतिक दल र विभिन्न समूहबीचको कार्यक्रम होहल्लासँगै अवरुद्ध भएको थियो । सो घटनापछि सुवेदी लगायतको राप्रपासँगको दुरी बढेको थियो ।
यसैबीच, संस्थापन पक्षले भने सुबेदीले स्वेच्छाले पार्टी परित्याग गरेकाले अनुशासन समितिको अध्यक्ष पद खाली रहेपछि वरिष्ठ सदस्य कार्कीलाई अनुशासन समितिको जिम्मेवारी दिइएको दाबी गरेको छ । सुबेदीले राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजक बनेपछि आफू अब राप्रपाको साधारण सदस्य नरहेको घोषणा गर्नु भएको थियो । सोही घोषणालाई आधार बनाएर संस्थापन पक्षले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकालेको हो । प्रवक्ता मोहन श्रेष्ठले आफै पार्टी परित्याग गरिसकेपछि अहिले निर्वाचन आयोग गुहार्नुको औचित्य नभएको बताउनु भयो ।