नेपालमा एमसीसी परियोजना अघि बढाउने निर्णयलाई एमसिए–नेपालको स्वागत

असार १८, २०८२ | काठमाडौं
अमेरिकाको वैदेशिक सहायतामा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन कार्यक्रम (एमसीसी) परियोजना अगाडि बढाउने निर्णयको एमसिए–नेपालले स्वागत गरेको छ ।
वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिनेसम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरिएको हो ।
एमसिए–नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग नजिकै रहेर काम गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।
एमसिए–नेपालले तीन वटा सबस्टेशन एवम् १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । सन् २०२५ फेब्रुअरीमा अमेरिकी विदेश सचिवले विदेशी सहायता ९० दिनको लागि स्थगित गरेपछि एमसीसी नेपाल कम्प्याक्ट अन्यौलमा परेको थियो ।